Monday, October 24, 2016

अनौठो र विवादित अमेरिकी चुनाव

सन्जय उपाध्याय

19 अक्टोबर 2016
बीबीसी नेपाली

विश्वको सबैभन्दा शक्तिशाली मानिने देश अमेरिकाको विश्वकै सबैभन्दा शक्तिशाली भनिने पदका लागि अगामी महिना हुने निर्वाचन नजिकिँदै जाँदा त्यसका दुवै प्रमुख प्रत्याशी आ-आफ्नै विवाद र बहसमा गहिरिँदै जानुले परिणामबारेको उत्सुकता र अन्योललाई बढाएको छ।

खरो टिप्पणी, तर्कसंगत नभएको भनिएका कतिपय नीतिहरु एवम् अपरम्परागत व्यक्तित्वका कारण चरम विवादमा झेलिंदै आएका रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनल्ड ट्रम्पले अहिले आएर यौन दुर्व्यवहारका संगीन आक्षेपहरुको पनि प्रतिवाद गर्नुपरिरहेको छ।

ती सबका कारण आफ्नै पार्टीका वरिष्ठ नेताहरुको दह्रो समर्थन पाउन नसकेका ट्रम्प बेला-बेला स्वतन्त्र उम्मेद्वारझैँ देखिने र सुनिने गरेका छन्।

कतिपय रिपब्लिकन नेता एवम् विश्लेषकहरुले ट्रम्प अभियानको कथित अराजकताले अमेरिकी संसदका दुवै सदनमाथि आफ्नो पार्टीको नियन्त्रण नै खतरामा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

उद्घोष
अन्य कतिपय रिपब्लिकनहरुले चाहिँ डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलरी क्लिन्टनलाई भोट दिने सार्वजनिक उद्घोष नै गरिसकेका छन् भने कतिपयले ट्रम्पलाई कुनै पनि हालतमा भोट दिन नसकिने बताउँदै आएका छन्।

नयाँ मत सर्वेक्षणहरुमा हिलरीभन्दा पछि परिरहेका ट्म्पले सार्वजनिक भेलाहरुमा भने समर्थकहरुको निकै राम्रो उपस्थिति पाइरहेका छन्

उनीहरुलाई ट्रम्पका विवादका श्रृंखलाले विचलित नपारेको सन्देश मत सर्वेक्षणहरुले दिइरहेका छन्।

ट्रम्पकै शब्दमा 'खतरामा पर्दै गएको परम्परागत अमेरिकी राजनीतिक, सामाजिक, आर्थिक लगायतका पहिचानको जगेर्ना गर्ने' उनको अठोटले धेरै गोरा अमेरिकीहरुलाई ती अर्बपति व्यापारीप्रति आकर्षित गरेको देखिन्छ।

कट्टर समर्थकका भरमा मात्र चुनाव जित्न सकिने आशा भने ट्रम्पलाई पहिलेदेखि नै थिएन र उनी दुबै पार्टीका संस्थापनसँग आजित सबै पृष्ठभूमिका मतदातालाई जित्न सकिने विश्वासमा छन्।

उता प्रथम महिला सिनेटर र विदेशमन्त्री भइसकेकी हिलरीलाई पनि स्थिति त्यति सजिलो देखिँदैन।

अनुत्तरित
ट्रम्पसँगको दुईवटा सार्वजनिक बहस जिते पनि हिलरीको स्वास्थ्य स्थितिबारेका प्रश्नहरु अनुत्तरित रहेका छन्।

हालैका दिनमा आएर विकिलिक्सले खुलासा गरेका उनीसँग सम्बन्धित निजी इमेलहरुले समस्या थपेका छन्।

महत्वपूर्ण विषयहरुमा उनका सार्वजनिक र निजी विचारहरु बाझिने गरेको आरोप लगाउनेहरुलाई ती इमेलहरुले बल दिएका छन् भने विदेशमन्त्री छँदा संवेदनशील सूचनाहरुको सुरक्षा गर्न नसकेको आरोपमा सरकारी सफाइ पाएपनि हिलरीको आधारभूत विश्वसनीयताबारे आश्वस्त हुन नसकेकाहरुको जमात उनकै पार्टीभित्र देखिएको छ।

महत्वपूर्ण सञ्चारमाध्यमसँग डेमोक्रेटिक पार्टीको विशेष सम्बन्ध रहेको आसय झल्कने खालका इमेलका व्यहोराले ट्रम्प खेमाले लगाइरहने आरोपलाई बल दिएको छ।

आफ्ना पति पूर्व राष्ट्रपति बिल क्लिन्टन एवम् हालका राष्ट्रपति बराक ओबामा जस्तो जनस्तरमा व्यक्तिगत आकर्षण बढाउन नसकेका कारण डेमोक्रेटिक मतदाता अपेक्षित संख्यामा भोट खसाल्न नआउलान् भन्ने पिरलोले पनि हिलरी खेमालाइ गाँजेको देखिन्छ।

मत सर्वेक्षकहरुलाई आफ्नो भित्री चाहना बताउन नचाहेका भनिएका मतदाता समूह आउदो नोभेम्बर ८ का दिन ठूलै सख्यामा ट्रम्पतिर लाग्ने छैनन् भन्न सक्ने विश्लेषकहरु कमै भेटिन्छन्।

त्यसमाथि अन्य दुई उम्मेदवार- लिबरटेरियन पार्टीका ग्यारी जनसन र ग्रीन पार्टीका जील स्टाइन- ले कसबाट बढी मत काट्लान भन्न सकिने अवस्था छैन।

आह्वान
क्लिन्टनको समर्थनमा एक सभामा बोल्दै ओबामाले रिपब्लिकन पार्टीका सबै वरिष्ठ नेताहरुलाई ट्रम्पलाई गरेको समर्थन औपचारिक रुपमा फिर्ता लिन आह्वान गरेका थिए।

ट्रम्प समर्थकहरु रिपब्लिकन आलोचकहरुप्रति नै आक्रामक रहँदै आएको यस अवस्थामा त्यसो हुने संभावना न्यून छ।

अमेरिकी इतिहासकै एउटा सबैभन्दा विवादित र अनौठा राष्ट्रपतीय चुनाव अभियानहरुमध्ये स्थापित भइसकेको यस अभ्यासको परिणाम मतदानमा असम्मिलित तर प्रभावित हुन बाँकी विश्वले निश्चय नै मनोरञ्जन र आशंकाको सम्मिश्रणका साथ प्रतीक्षा गर्नेछ।

Copyright © 2016 बीबीसी.

http://www.bbc.com/nepali/news/2016/10/161019_us_elex_sanjay