Thursday, June 08, 2023

प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?

‘द राज लिभ्स: इण्डिया इन नेपाल’ पुस्तकका लेखक सञ्जय उपाध्यायले प्रधानमन्त्रीले जटिल सीमा विवादबारेको गतिरोध फुकाउने प्रयास गरेको हुनसक्ने भएपनि त्यसले गम्भीर प्रश्नहरू उब्जाएको बताए।
उनी भन्छन्, “प्रधानमन्त्रीले यसबारेमा नेपालीहरूलाई बहस गर्ने मौका नदिईकनै आफ्नो धारणा राखे। यति दीर्घकालीन महत्त्वको विषयमा जुन हल्का तरिकाले अघि बढ्ने प्रयास प्रधानमन्त्रीले गरे यसले उनको कूटनीतिक सामर्थ्यमा प्रश्नहरू खडा गरेको छ।”
[प्रबुद्ध समूहको] प्रतिवेदनलाई गरिएको उपेक्षालाई एउटा दृष्टान्तको रूपमा प्रस्तुत गर्दै लेखक उपाध्यायले थपे, “यो भ्रमणले जबाफ दिनुभन्दा धेरै प्रश्नहरू खडा गरेकाले दुईपक्षीय सम्बन्धमा आपसी अविश्वास र आशङ्का निरन्तर व्याप्त रहेको छ। प्रबुद्ध समूहको प्रतिवेदनलाई पूर्ण रूपमा उपेक्षा गरिनुबाट ती प्रश्नहरू खतरनाक रूपमा प्रकट भएका छन्। एकदमै धार्मिक रङ्ग दिइएको हाम्रा माओवादी केन्द्रका नेताको उज्जैनस्थित एउटा मन्दिरको भ्रमणले उनको वैचारिक र राजनीतिक कदलाई थप कमजोर बनाएको छ।”
उज्जैनको महाकालेश्वर मन्दिर भ्रमण गर्ने आफ्नो निर्णयको बचाउ गर्दै उनले निम्तालुको चाहना र आफ्नो पनि इच्छामा उक्त धार्मिक स्थलको भ्रमण भएको उल्लेख गरेका थिए।
उपाध्याय भन्छन्, “[आफ्ना समकक्षी मोदीसँग तीन पटक एक्लै एक्लै] छलफलमा उठेका कुराको गोप्यता र त्यसलाई महत्त्व दिएर प्रस्तुत गर्ने हाम्रा प्रधानमन्त्रीको तत्परताले सम्झौता र सहमतिहरूमाथि नकारात्मक प्रभाव पारिदिएको छ। पुराना जटिलताहरू हल नगरी नयाँ खाका तय गर्नु बुद्धिमत्तापूर्ण मार्ग होइन।”
विभिन्न सम्झौतासहितलाई देखाएर भ्रमण सफल भएको निष्कर्ष सुनाउने तत्परता देखाउनु एउटा कुरा भएपनि नेपाल भारत सम्बन्धमा यस्ता प्रतिकात्मक परिस्थितिहरूभन्दा ठोस परिणाम आवश्यक भएको उनले सुनाए।
उपाध्याय बदलिँदो क्षेत्रीय, रणनीतिक र सुरक्षा वातावरणका माझ पश्चिमा शक्तिहरूको समर्थनमा भारतले 'अनुचित' चिनियाँ प्रभाव नेपालमा कमजोर बनाउने रणनीति लिएको बताउँछन्।
उनले भने, "यो अवधारणाको समस्या भनेको हो अरूले अनुचित ठानेको कुरा नेपालको दृष्टिकोणमा सधैँ त्यस्तो नहुन सक्छ। नेपालका दुई विशाल छिमेकीमध्ये चीन एउटा हो र नेपालले सम्भव भएसम्म आपसी लाभ हुने गरी ऊसँग गहिरो सम्बन्ध राख्न चाहन्छ।"
उपाध्यायले भारतीय र पश्चिमा नीतिगत मञ्चहरूका माध्यमबाट नेपाललाई कुनै पनि हिसाबले संस्थागत र स्वायत्त रूपमा निर्णय गर्नबाट वञ्चित गर्नु क्षेत्रीय शान्ति र स्थिरताका निम्ति उपयुक्त नहुने चेतावनी दिए।
उनले थपे, "पश्चिमासँगको भारतको निकटता र नेपाललाई दक्षिण एशियासँग जोड्ने पुलका रूपमा जोड दिएर प्रस्तुत गर्ने चिनियाँ धारणाले नेपालका लागि सहज समय नरहेको देखिन्छ। यस्ता विशाल चुनौतीमाझ हाम्रो राजनीतिक नेतृत्वबाट देखाइनुपर्ने संवेदनशीलता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा देखिएन।"