Sunday, September 21, 2008

उपलब्धि होइन, जिम्मेवारी

सञ्जय उपाध्याय

जुनसुकै कोणबाट नियाले पनि अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको उपलब्धिलाई उनले नेकपा माओवादीको सत्तारोहणले त्यहां उब्जाएका प्रश्नहरूका बारे कत्ति आश्वस्त बनाउन सके भन्ने कुराले नै नाप्नेछ ।
भारतीय हैकमवादविरुद्ध शङ्खनाद गरी जनयुद्धमा होमिएका विद्रोही नेताकै हैसियतमा प्रधानमन्त्री दाहाल प्रस्तुत हुन त कूटनीतिको आधारभूत मान्यताले नै दिंदैनथ्यो । न त सरकारप्रमुखका हैसियतमा दाहाललाई भूमिगत जीवनबाट सार्वजनिक भएलगत्तै दिल्ली गएका बेला दर्शाएको उन्मुक्त शाब्दिक उदारता दोहोर्‍याउने छूट मिल्थ्यो । तर पनि आफ्नो सौम्यता प्रयोग गरी सबै विचारधाराका भारतीय नेताहरूको मन जित्ने प्रयासमा दाहाल निकै अगाडि रहे । यसलाई नै उपलब्धि ठान्नु कति घातक सिद्ध हुन सक्नेछ भन्ने बोध प्रधानमन्त्री र उनको दललाई नभएको पक्कै होइन ।
भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा नियमित र निर्दिष्ट प्रतिबद्धताहरूको सम्मिश्रण भए तापनि नेपाल-भारत सम्बन्धका पृष्ठभूमिमा त्यसलाई निरन्तरता नै मान्नुपर्ने हुन्छ । सन् १९५० को शान्ति र मैत्री सन्धिको पुनरावलोकन, नवीकरण र समायोजन गर्न व्यापार र पारवहनमा सहुलित बढाउन, जलस्रोतको व्यापकतम् विकास गर्न गरिएका प्रतिबद्धतालाई साकार पार्न संयन्त्रहरूले आफ्नै गति तय गर्लान् ।
कोसीपीडितको राहत, राजमार्ग मर्मतका लागि सहायता, खाद्यान्न र पेट्रोलियम पदार्थको निर्बिघ्न आपूर्तिजस्ता विषयहरूले राष्ट्रको तात्कालिक ध्यान खिच्नेछ । प्यूठानस्थित राप्ती नदीमा नौमुरे जलविद्युत् निर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता झट्ट हर्दा नौलो देखिए पनि प्रधानमन्त्रीको भ्रमणको उपलब्धि भनेर मान्नुपर्ने कारण छैन । त्यसको चर्चा कुनै न कुनै रूपमा भइरहेकै थियो ।
भ्रमणको उपलब्धिभन्दा पनि त्यसले दिएको जिम्मेवारी महत्त्वपूर्ण बनेको छ । २०४६ सालको परविर्तनपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राई, गिरिजप्रसाद कोइराला र मनमोहन अधिकारीको भारत भ्रमणपछि जारी विज्ञप्तिहरू निकै भद्र शब्दावलीमा रचिएका थिए । झट्ट हर्दा तिनले आसन्न विवादहरूको पूर्वाभास दिएका थिएनन् । 'साझा नदी'को दलदलमा फस्न गए पनि अन्तरिम प्रधानमन्त्री भट्टर्राईले निर्वाचित सरकारलाई दीर्घकालीन महत्त्वका विषयहरू छोड्न पाएका थिए । कोइरालाको भ्रमणकालमा जनाइएका कति प्रतिबद्धताहरू साकार भए पनि टनकपुरमा तटबन्ध बनाउने कुरा नेपाललाई बाढीबाट जोगाउने उपकारवादी आवरणमा सिंगारिएको थियो ।
टनकपुर काण्डले नेपाली राजनीतिलाई रन्थनाएपछि त्यसका गल्तीलाई सुधार्ने प्रणका साथ बृहत् महाकाली पुलिन्दा प्रधानमन्त्री अधिकारीको भ्रमणपछि आयो । शेरबहादुर देउवाको संयुक्त सरकारले संसद्बाट सन्धिको अनुमोदन गराई छ महिनामा निस्कने भनिएको विस्तृत परियोजना प्रतिवेदनको नाक-मुख देख्न अहिलेसम्म पाइएको छैन ।
त्यसमाथि सरोकारवाला भारतीय राज्य उत्तर प्रदेशबाट उत्तराखण्ड चोइटियो । ती राज्यहरू प्राकृतिक स्रोत र सम्पदाको बांडफांटको खिचातानीमा लिप्त भइरहंदा हामीहरू विद्युत् बेच्ने सपना देख्न छाडेका छैनौै । महाकाली भने अविरल बगिरहेको छ । अझ ताजा कुरा गर्ने हो भने शाही सरकारको पतनपछि दिल्ली पुग्दा एसियाकै राजनेता भनी सम्मानित प्रधानमन्त्री कोइरालाको भ्रमणपश्चात् घोषित 'हिमालयन मार्सल प्लान' त पग्लेर कता बिलायो कता ।
हर्र्दै जाउं, अहिले पेट्रोलियम पदार्थको आपूर्तिलाई निरन्तरता दिनका लागि छुट्याइएको ऋणले कत्तिको त्राण देला । भारतीय आयल निगमले बक्यौताको खिचलो निकाल्दा यो कुरा मिलाउन नयां दिल्लीले सकेको भए अहिलेको प्रतिबद्धतालाई आसन्न सुपुर्दगी सन्धिसंग जोडेर हेर्ेन नेपालीहरू विवश हुनुपर्ने थिएनन् ।
१९५० को सन्धिको पुनरावलोकन हुनुपर्ने नेपाली चाहनालाई तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उठाउंदा नयां दिल्ली केही सहिष्णु बनिदिएको भए अहिलेको हृदय परविर्तनलाई हामीले ग्रेटर नेपाल र गोर्खाल्यान्ड प्रसङ्गसित जोडेर शङ्कालु बन्नु पर्ने थिएन ।
सो सन्धिमा हामीलाई अहितकर लागेका सामरकि, सुरक्षा र राजनीतिक पाटालाई परिवर्तन गर्दा नेपालको भूपरिवेष्ठित अवस्थितिसित प्रत्यक्ष रूपले सरोकार राख्ने आर्थिक पाटा सुनिश्चित गर्ने बखतमा त ०४६ सालकै अनुभवले पिरोल्ला । भारतले जनान्दोलन उर्त्र्सगमा पुग्न लाग्दा राजा वीरेन्द्रतर्फ तेर्साएको एकीकृत मस्यौदा सन्धिकै संस्करण प्रधानमन्त्री भट्टर्राईसमक्ष प्रस्तुत गरेको थियो ।
छुच्चो भएर नेपालले भारतसंग सधै सबै कुरा लिन मात्र खोजेको आक्षेप नलागोस् । हामीसंग दिने कुराहरू नै पनि त सीमित छन् । भारतीय सुरक्षाप्रति संवेदनशील हुंदाहुदै पनि छाती खोल्न परिस्थितिले दिंदोरहेनछ । भारतसंग नेपालको खुला सीमालाई हाम्रो उत्तरी छिमेकीले आफ्नो राष्ट्रिय सुरक्षासंग गांसेर हर्न थालेको यथार्थ त नयां दिल्लीले बुझ्नुपर्ने हो ।
राजतन्त्रलाई मौका पाउनेबित्तिकै चिनिया तुरूप देखाएर आफूहरूलाई धम्काउन खोजेको भनेर उफ्रने मध्येकै केही प्रतिष्ठित भारतीय अध्येताहरू गणतन्त्रात्मक नेपाल चीनमुखी भयो भनेर टाउको ठटाउन छाडेका छैनन् । नेपाली रहर र बाध्यता छुट्याउन नखोजेर सुरक्षा संवेदनशीलतामा एकाधिकार खोज्ने प्रवृत्ति अरूमा रहुन्जेल हाम्रा आश्वासनले के नै गर्नसक्छ ।

(नेपाल राष्टिय साप्ताहिक, असोज ५, २०६५)