Tuesday, April 22, 2008

सत्ताको अभिशाप

सञ्जय उपाध्याय
नेकपा माओवादीको अनपेक्षित चुनावी सफलतालाई सबैले आ-आफ्नै ढङ्गले व्याख्या गर्ने क्रमको तीव्रतालाई हर्दा मुलुकले सर्वस्वीकार्य स्पष्टीकरण पाउन गाह्रो पर्ने देखिन्छ। त्यसैले त्यतातिर समय खर्चनुभन्दा भविष्यप्रति उन्मुख हुनुमै बुद्धिमानी ठहरिनेछ । स्पष्टै भन्नुपर्दा माओवादीहरूको सफलतालाई स्वीकार गर्दागर्दै पनि त्यसले निम्त्याउन सक्ने प्रतिक्रिया, प्रभाव र प्रवृत्तिको आकलन गर्नु अत्यावश्यक छ।
उत्कृष्ट वैज्ञानिक दर्शनका अनुयायी भएकोमा गौरव गर्दै आएको माओवादी नेतृत्वले नतिजाको बराबर र विपरीत प्रतिक्रियाको अपेक्षा गररिहेकै होला। नयां राजनीतिक दललाई नवीनताले नै केही न केही फाइदा पुर्‍याउने गर्छ। माओवादीहरूको हकमा त उनीहरू रूपान्तरति भएर आएका हुन्, त्यो पनि एक दशकसम्म हत्या र हिंसाका प्रतीक बनेर।
बन्दुक र बमका साथसाथै उनीहरूले राज्यविरुद्ध शब्दजालको सशक्त प्रयोग गरे। जनयुद्धभरि आफूहरूलाई जसले जसरी हेरेको भए पनि ती विविध बुझाइको तुंवालो पछाडि बसेर नेतृत्वले सङ्गठनलाई यहां सम्म पुर्‍याउन सफल भयो।
निर्दोष नागरकिमाथि भएका जघन्य अपराधपश्चात् माओवादी नेताहरूले कतिपटक आत्मालोचना गरे। राज्यले त्यस्ता घटनाहरू हुदै जानुलाई नेतृत्वले तल्लो पङ्क्तिमाथि पकड गुमाएको भनी अर्थ्यायो। माओवादीहरूले सो बुझाइको प्रतिवाद गर्न उति आवश्यक ठानेनन्। कारण खुल्दै पनि गयो। आफ्ना मूल्य, मान्यता, भाव, आवश्यकता र अपेक्षाका बारेमा आमजनतामा जति भ्रम बाक्लियो, त्यति नै उनीहरूलाई फाइदा पुग्ने भयो।
राजतन्त्र उन्मूलनको अभियानमा चुर्लुम्म डुब्दा पनि दरबारसंगको कार्यगत एकता रहेको स्वीकारोक्ति त एउटा कडी मात्र थियो। दरबार हत्याकाण्डपछि गद्दीनसिन भएको घडीदेखि आफूहरूले खेद्दै आएका राजा ज्ञानेन्द्रको सरकारसंग दुुइपटक वार्तामा बस्न माओवादीहरूलाई असहज भएन। त्यसभन्दा पहिले नारायणहिटी काण्डमा संलग्न रहेको आरोप लगाउदै बहुमतप्राप्त प्रधानमन्त्रीलाई गैरप्रजातान्त्रिक प्रक्रियाबाट पदच्यूत गराउन विद्रोहीहरूले मूलधारका प्रतिपक्षीहरूलाई मद्दत गरेका थिए। पांच वर्ष नबित्दै माओवादीहरू तिनै वयोवृद्ध व्यक्तिको पछि लागेर सिंहदरबार छिर्दा देशले गाह्रो मान्न पाएन।
वार्ता र युद्धलाई पर्यायवाची धरातलीय यथार्थ बताएर नेपाली मनमस्तिष्क रन्थनाउने माओवादीहरूले शान्ति प्रक्रिया अंगालेपछि आफ्नो कुटिलतालाई पनि परिस्कृत गरे। वाईसीएलको उदय र उद्दण्डता एवम् राज्यसत्ता जसरी पनि कब्जा गर्ने चेतावनीजस्ता कुराले माओवादीहरूको अन्तिम लक्ष्यलाई झनै अस्पष्ट बनायो। शाब्दिक चालबाजीको चलन त व्यापकै रहेछ । मूलधारमा समाहित हुन लागेर नेतृत्वले जनयुद्धलाई धोका दिए भनेर कटु आलोचना गर्दै आएका रवीन्द्र श्रेष्ठ त तुलनात्मक रूपले दक्षिणपन्थी एमालेमा छिर्न गए।
नकारात्मक धरातलमै उभिएका शक्तिहरूमध्येबाट र्सार्वभौम नेपाली जनताले माओवादीलाई रोजेका छन्। संविधानसभा निर्वाचन अभियानलाई सबै दलले संसदीय चुनावभन्दा पृथक् नबनाइदिएकाले माओवादीहरूलाई पनि नयां नेपालको खाकामा अल्झिरहनु परेन। तर, अब शासनभार आई नै सकेपछि राष्ट्रको मूल कानुन निर्माण गर्ने प्रमुख जिम्मा माओवादीहरूले नलिई सुखै छैन।
सरकार र सभामा रहने अन्य दलहरूको पनि दायित्व उत्तिकै रहनेछ। तर, उनीहरू मूल रूपले आ-आफ्ना दीर्घकालीन हित सुरक्षित गर्ने खालको संविधान बनाउन प्रयत्नरत हुने हुंदा प्रक्रिया सहज हुने छैन। त्यसमाथि श्रोताका अनुहार र अपेक्षा हेरेर आफ्ना मूल्य र मान्यता व्याख्या गर्ने माओवादीहरूको पुरानो बानीको स्मरण गराइरहने काममा विपक्षी चुक्ने छैनन्। सरकारमा रहने अन्य दलहरूले अपजस जति माओवादीका थाप्लामा थोपर्न खोज्नु अस्वाभाविक हुने छैन। उता काङ्ग्रेस र एमालेमा चुनाव हारेका हस्तीहरूको प्रभाव र प्रवृत्ति सभाबाहिर सवल हुने नै देखिन्छ।
सत्ताको अभिशापले माओवादीहरूलाई व्यापक सहमतिका लागि सहिष्णु बन्न कर लगाउला पनि। तर, जतिसुकै इमानदारीका साथ अन्य दलतर्फ बढ्न खोजे पनि उनीहरूलाई आफैले बुनेको अविश्वासको जालबाट उम्कन सजिलो हुने छैन। उता राज्यसत्तामाथि एकाधिकारको मनोविज्ञानबाट अभ्रिप्रेरित माओवादीहरूको तल्लो पङ्क्तिले नेतृत्वले अन्य दलहरूसंग गर्नसक्ने सम्झौताको दायरा सङ्कुचित बनाउने सामर्थ्य राख्नेछन्। सत्ताबाहिर रहेका र उब्जन सक्ने समूहहरूका असन्तोषका बारेमा त माओवादी नेतृत्वलाई केही भनिरहनुपरेन। असन्तोषको आगो सल्केपछि त्यसमा आ-आफ्नै स्वार्थका लागि घिउ थप्नेहरूको अभाव देशभित्र वा बाहिर रहने छैन।
सुरक्षाको कवचका लागि माओवादीहरूले पनि अन्ततः विदेशीहरूलाई नै समाउन पुगे भने त्यो उनीहरूलाई समस्या बन्ने देखिन्छ। जङ्गलबाट राजधानी पसेको वर्षदन नपुग्दै सङ्गठनमा कुन गुट उत्तर र कुन दक्षिणतिर ढल्केको भन्ने र्सार्वजनिक चर्चाको विषय बनिसकेको थियो। बाह्य शक्ति संगको सामीप्यको मूल्य कति चर्को पर्ने हो एवम् त्यो आफूहरूले नै बेहोर्नपर्ने यथार्थ बुझ्न त माओवादीहरूले काङ्ग्रेस र एमालेलाई हेरे पुग्छ। यस ऐतिहासिक क्षणमा आशङ्का र असमझदारी चिर्दै सबै राजनीतिक शक्तिहरू अघि बढ्न सकून् भन्ने कामना गरौ।